आठौंं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ले शीर्ष पुरस्कार गौतम बुद्ध अवार्ड जितेको छ ।
यसवर्षको संस्करण सोमबार बेलुका सम्पन्न भयो जहाँ १७ विधाका विजयीलाई पुरस्कृत गरियो । नेसनल फिल्म प्रतिस्पर्धाको विधामा ‘आँखा’ उत्कृष्ट कथानक फिल्म घोषित भयो । ‘साक्षी रुख’ उत्कृष्ट छोटो फिल्म र ‘देवी’ उत्कृष्ट डकुमेन्ट्री घोषित भए ।
फिचर फिल्मको प्रतिस्पर्धामा ‘पूजार सार्की’बाट दिनेश राउत उत्कृष्ट निर्देशक, ‘पूजार सार्की’बाट अञ्जना बराइली उत्कृष्ट अभिनेत्री, ‘आँखा’बाट आरके मेहता उत्कृष्ट अभिनेता, ‘पूजार सार्की’बाट राजेश श्रेष्ठ उत्कृष्ट छायांकार र ‘आँखा’बाट जौन योञ्जन उत्कृष्ट पटकथा लेखक घोषित भए ।
भारतीय फिल्म ‘रूक्मिणी’ले डन क्वीजोटे अवार्ड पाउँदा मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) चाहिँ अर्जेन्टिनाको फिल्म ‘द अविस’ले प्राप्त गर्यो ।
छोटो फिल्म विधातर्फ ‘अ बिट्नेस’तर्फ निशान खत्री उत्कृष्ट निर्देशक, माउन्ट एभरेस्ट अवार्ड बेल्जियमको ‘मेल्टिङ स्नो’ले पाएको छ । बागमती अवार्ड स्पेनी फिल्म ‘लुसिया जि रोमेरो’ले प्राप्त गर्यो ।
अडिएन्स च्वाइसतर्फ लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतिदेवी’ उत्कृष्ट कथानक फिल्म बन्यो । यही विधामा लव प्याकुरेलको ‘गल्स रि राइटिङ डेस्टिनी’ उत्कृष्ट डकुमेन्ट्री र साक्षी रुख उत्कृष्ट छोटो फिल्म घोषित भए ।
चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा भएको महोत्सवमा ४० देशका ८७ फिल्म प्रदर्शन भएका थिए । समापनमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि थिए ।