गायक र ‘फ्रन्टम्यान’लाई मात्र होइन, गीत बनाउने हरेक सर्जकलाई सम्मान गरौँ भन्ने सन्देश दिँदै लोकप्रिय लोकपप ब्याण्ड ‘कन्दरा’ अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा गुन्जिएको छ ।
नेपाली बहुल एडिलेड र मेलबर्नपछि ब्याण्ड टूरको तेस्रो श्रृंखलाको रुपमा क्यानबेरामा गुञ्जिएको हो । १० हजारभन्दा धेरै दर्शक सहभागी क्यानबेरा कन्सर्टले संगीतप्रेमीको मन जित्यो । कन्दरा आफ्ना कालजयी गीतमा प्रस्तुत भएको थियो ।
ती कालजयी गीत गाउँदा दर्शकले पनि साथ दिए । कार्यक्रम संगीत र भावनाको मिश्रणले भरिपूर्ण बन्यो । आफ्ना हरेकजसो कन्सर्टमा सन्देश दिँदै आएको ब्याण्डले अघिल्ला कन्सर्टमा संगीतकार गोपाल योञ्जनप्रति श्रद्धाभाव व्यक्त गरेको थियो ।
क्यानबेरामा भने ब्याण्डले ‘फ्रन्टम्यान’लाई होइन, गीतका लेखक र सर्जकलाई कन्सर्ट समर्पण गर्यो । स्टेजमा गीत गाउँदै गर्दा मुख्य गायक विवेक श्रेष्ठले सोधे- चर्चित गीत ‘जति माया लाए पनि’ गीत गाउन गायक को हुनुहुन्छ ?
भीडबाट एक स्वरमा उत्तर आयो- अरुण थापा ।
त्यसपछि उनले पुनःप्रश्न गरे – यस गीतका गीतकार को हुनुहुन्छ ?
भीड केही क्षण मौन रह्यो ।
यही मौनतालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘हो, यही हो हामीले भन्न खोजेको कुरा । गायकलाई मात्र होइन, गीत बनाउने हरेक सर्जक, गीतकार, संगीतकार, एरेन्जर सबैलाई सम्मान दिनुपर्छ ।’
श्रेष्ठले खुलासा गरे कि ‘जति माया लाए पनि’ गीतका गीतकार स्व. बिनोद गौचन हुन्, जसले यो कालजयी सिर्जना गरेका थिए । नेपाली संगीतमा गीतकार र संगीतकारको योगदान अमूल्य रहेको उल्लेख गर्दै श्रेष्ठले कन्दरा ब्याण्डका मुख्य संगीतकार तथा गीतकार सुनील थापालाई विशेष सम्मान प्रकट गरे ।
यस ऐतिहासिक कन्सर्टमा कन्दराले ‘चन्चले कान्छी’, ‘तगारोमा रुमाल राखी’, तिमि पारी, लेककी हे माया, हङकङ पोखराजस्ता लोकप्रिय गीतहरू प्रस्तुत गर्यो ।
दर्शक हरेक गीतमा ताली, उत्साह र गुञ्जायमान स्वरमा सहभागी भईरहेका थिए । ‘नेपाली संगीतलाई अस्ट्रेलियामा प्रवर्धन गर्ने कन्दराको प्रयासलाई सबैले खुलेर स्वागत गरे’ विवेकले अनलाइनखबरसँग भने ।
ब्याण्डले यसअघि एडिलेड र मेलबर्नमा सानदार प्रस्तुति दिइसकेको छ । क्यानबेरापछि अब टोली तास्मानियाको होबार्ट, त्यसपछि ब्रिसबेन र न्यूक्यासलमा कन्सर्ट गर्दै यसपालिको अस्ट्रेलिया टूरलाई भव्य रूपमा समापन गर्ने तयारीमा छ ।
‘संगीत भनेको सिर्जना हो, सिर्जनामा संलग्न सबै सर्जकको योगदान उत्तिकै महत्वपूर्ण छ’ गायक श्रेष्ठले भने, ‘नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा मजबुत बनाउने हाम्रो यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण दर्शकलाई हृदयदेखि धन्यवाद ।’