अस्ट्रेलिया टूरमा रहेको लोकप्रिय ब्याण्ड ‘कन्दरा’ मेलबर्नमा पनि गुञ्जिएको छ । त्यहाँ आयोजित नेपाल महोत्सव २०२५ को अवसरमा ब्याण्डले आफ्ना चर्चित गीतमा प्रस्तुति दियो ।
गतसाता एडिलेडबाट सुरु भएको कन्दराको अस्ट्रेलिया टूर यसपटक भने मेलबर्नमा भव्य रह्यो । हजारौं नेपाली सहभागी कार्यक्रममा ब्याण्डले आफ्ना गीतमार्फत नेपाल र नेपालीपनको महत्वलाई स्मरण गरायो । प्रस्तुतिको क्रममा ‘जय जय नेपाल’को नारा लगाउँदै दर्शकले ब्याण्डको सांगीतिक भावलाई आत्मसात गरे ।
सो क्रममा ब्याण्डले संगीतकार गोपाल योञ्जनप्रति पनि श्रद्धाभाव व्यक्त गर्यो ।
‘महाकाली मेची हो भन्छन्, नेपाल म भन्छु मानचित्र
वास्तविक नेपाल छ भने कतै नेपाली मनभित्र’
योञ्जनले लेखेका यी हरफहरू कन्दराको प्रस्तुतिको क्रममा डिजिटल पर्दामा देखिएको थियो । जसले कन्दरालाई पछ्याउने दर्शकमा राष्ट्रप्रेमलाई ओतप्रोत तुल्यायो । योञ्जनको भावनालाई नयाँ पुस्तासम्म पुर्याउने संकल्प कन्दराले लिएका ब्याण्डका मुख्य गायक विवेक श्रेष्ठले बताए ।
उनी भन्छन्, ‘यो गीतले अहिलेको समयमा झन् गहिरो अर्थ बोकेको छ । हाम्रा अग्रज सिर्जनाकारले दिएका सांगीतिक उपहारलाई भावी पुस्तासम्म पुर्याउने हाम्रो जिम्मेवारी हो । त्यसैले हामीले प्रत्येक कन्सर्टमा यो गीतलाई विशेष रूपमा प्रस्तुत गर्दै आएका छौं ।’
‘त्यसैले कन्दराले यो सांगीतिक धरोहरलाई निरन्तरता दिँदै हरेक कार्यक्रममा उहाँको गीतलाई श्रद्धाञ्जलीस्वरुप प्रस्तुत गर्दै आएको छ’ उनले भने ।
लबर्न र एडिलेडमा सफल कार्यक्रम सम्पन्न भइसकेपछि अब कन्दरा क्यानबेरा, होबार्ट र ब्रिसबेन प्रस्तुति दिने तयारीमा छ । यात्राको समापन अप्रिल १३ मा न्यू क्यासल मा हुने कन्सर्टसँगै हुनेछ ।
नेपाली संगीत, संस्कृति र पहिचानलाई विश्वभर फैलाउने उद्देश्यसहित नेपाली गैरआवासीय संघ (एनआरएनए) अष्ट्रेलियाले महोत्सव आयोजना गरेको हो । महोत्सवको माध्यमबाट समुदायको एकता झल्किनुका साथै नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग जोड्ने प्रयास गरिएको जनाइएको छ । कन्दराले यसअघि नेपालसहित बेलायत, युएई, कतार र हङकङमा प्रस्तुति दिइसकेको छ ।