अभिनेता बुद्धि तामाङको पहिलो निर्माणमा बन्न लागेको चलचित्र ‘कुस्ती’ को छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ । मङ्गलवार साँझ काठमाडौंको मातातीर्थमा मुहूर्त पूजा गर्दै चलचित्रको छायाङ्कन थालनी गरिएको हो । पहिलो दिन अभिनेता धिरज मगर, पुष्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिचिएको निर्देशक अनिल योञ्जनले जानकारी दिए । निर्देशक योञ्जनका अनुसार ‘कुस्ती’ प्रेममा रहेका एक जोडीको कथामा आधारित छ, जसले एक अर्कालाई माया गरे पनि उनीहरूको भिन्न स्वभावका कारण सम्बन्धलाई निभाउन कठिन भइरहेको छ । उनले भने, “सहरको कथा भएकाले चलचित्रको अधिकांश छायाङ्कन काठमाडौंका विभिन्न स्थानमा गरिनेछ । दर्शकले यो जोडीबाट जुन अपेक्षा राख्छन्, त्यसलाई पूरा गर्ने प्रयास हामीले गर्नेछौँ ।”
करिब ४५ दिनको सेड्युल तयार गर्दै निर्माण पक्षले छायाङ्कन अगाडि बढाएको छ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रमा धिरज मगर, मिरुना मगर, बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुष्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहनेछ । पहिलो पटक निर्माता बनेका बुद्धि तामाङले चलचित्र निर्माणको अनुभव उत्साहजनक भए पनि केही नर्भसनेस रहेको बताए । “कलाकारितामा सङ्कलन गरेको अनुभवलाई चलचित्र निर्माणमा प्रयोग गर्ने अवसर मिलेको छ। राम्रो कथा र सक्षम टिमका कारण म यो यात्रामा अघि बढ्न सकेको हुँ,” उनले भने ।
चलचित्रमा उमङ्ग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहको सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ । डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहनेछ भने ड्रेस डिजाइन आईआईएफटी (धिरज एन्ड मिरुना) र बोमी राई ले गरेका छन् । काठमाडौंमा रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र मोफसल एफडी कम्पनीले वितरण गर्ने यो चलचित्र विसं २०८२ को भदौमा प्रदर्शन हुने तय गरिएको छ ।