फागुनमा पनि अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा ९ फिल्म प्रदर्शनको तयारीमा छन् । फिल्म हुन् ‘दुखी आत्मा’, ‘रंगी’, ‘मायाबी’, ‘फेरि रेशम फिरिरि’, ‘लाज शरणम्’, ‘ताण्डबम्’, ‘आउट लः दफा २१९’, ‘होस्टल ३’, ‘अञ्जिला’ लगायत छन् । फागुनमा कुनै शुक्रबार एउटा मात्र फिल्म रिलिजमा छ, भने कुनै शुक्रबार दुई र तीन वटा फिल्म छन् । फागुनको अन्तिम दिन २९ गते बिहीबार पनि दुई फिल्म रिलिज तयारीमा छन् । फागुनको पहिलो साता शुक्रबार अर्थात् २ गते फिल्म ‘दुखी आत्मा’ र ‘रंगी’ भिड्दैछन् । त्यसपछिको साता शुक्रबार फागुन ९ गते एक मात्र फिल्म ‘ताण्डबम्’ लाग्दैछ । तेस्रो साता भने शिवरात्रिको अवसर पारेर १४ गते बुधबार तीन फिल्म ‘मायाबी’, ‘फेरि रेशम फिरिरि’, ‘लाज शरणम्’ एक–अर्काेसँग भिड्न तयार छन् ।
चौथो साता २३ गते एक मात्र फिल्म ‘होस्टल ३’ आउँदैछ । फागुनको अन्तिम दिन बिहीबार भने दुई फिल्म ‘आउट लः दफा २१९’ र ‘अञ्जिला’ रिलिज तयारीमा छ । फागुनमा ९ फिल्म रिलिज हुनुलाई कतिपयले निर्माण बढेको प्रभाव बताउँछन् भने कतिपयले व्यावसायिक आस । फागु, शिवारात्रिलगायत चाडबाडका कारण फागुनमा फिल्म थुप्रिएको वितरक करण श्रेष्ठ ‘क्रेजी’ बताउँछन् । ‘अहिले फिल्म निर्माण पनि बढेको छ । त्यसले पनि फागुनमा रिलिज फिल्मको संख्या बढ्ने दखियो’, श्रेष्ठ भन्छन्, ‘फागुनमा भ्यालेन्टाइम डे, शिवरात्रि, होलीजस्ता फेस्टिभल छन् । जसले निर्मातामा व्यावसायिक आससमेत जगायो ।’ यसरी फिल्म थुप्रिनु व्यवसायका लागि राम्रो नभएको उनको भनाइ छ । निर्माता तथा प्रदर्शक गोपालकाजी कायस्थ फागुनमा फिल्म धेरै आउनु भनेको निर्माण बढेको बताउँछन् । कायस्थले भने, ‘फिल्मको निर्माण बढेसँगै प्रदर्शनमा चाप हुनु स्वाभाविक हो ।’
- कस्ता फिल्म आउँदैछन् फागुनमा ?
पछिल्लो समय दर्शकले अर्गानिक र भेराइटीमा रुचि राख्न थालेका छन् । उनीहरूको खोज नौलो र फरक कथा हुने गरेको छ । पछिल्लो समय चलेका फिल्मले पनि त्यही देखाउँछ । भेराइटी खोज्ने दर्शकका लागि यो फागुन विशेष हुने देखिन्छ । किनभने फागुनमा रिलिज हुने ‘दुखी आत्मा’, ‘रंगी’, ‘मायाबी’, ‘फेरि रेशम फिरिरि’, ‘लाज शरणम्’, ‘ताण्डबम्’, ‘आउट लः दफा २१९’, ‘होस्टल ३’ र ‘अञ्जली’ सबै एकअर्काभन्दा फरक कथावस्तुमा छन् । कुनै फिल्ममा कलाकार दोहोरिएका भए पनि उनीहरूको चरित्र भिन्न देख्न सकिने बताइन्छ । फागुन २ गते रिलिज हुने दुई फिल्म ‘दुखी आत्मा’ र ‘रंगी’ मध्य ‘दुखी आत्मा’ यौन शिक्षाको कथामा बनेको फिल्म हो । दीपेन्द्र लामा निर्देशित यो फिल्म हिमाल कडरियाले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ ।
‘रंगी’ले बुबा र छोरीको भावानात्मक कथालाई विषयवस्तुका रूपमा अगाडि ल्याएको छ । शान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । सलोन बस्नेत निर्माता रहेको फिल्ममा उनै बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । ९ फागुनमा रिलिज हुन लागेको फिल्म ‘ताण्डबम्’ जुनिम गहतराजले निर्देशन गरेका हुन् । पहिलो सन्तानको स्वागतको तयारी रहेका दम्पतीमा अचानक भएको घटनाको प्रभाव कथा बनाइएको फिल्ममा अंकित खड्का, जुनिम गहतराज, पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ । फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।
त्यस्तै, शिवरात्रिको अवसर पारेर फागुन १४ गते बुधबार भिड्न लागेका तीन फिल्ममध्ये ‘फेरि रेशम फिरिरि’, ‘लाज शरणम्’ र ‘मायाबी’मध्ये ‘मायाबी’ प्रेमकथामा बनेको हो । दिवाकर भट्टराई निर्देशित फिल्ममा पल शाह, दीपिका प्रसाइ, सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नवकलाकार समीम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाईँ, दीपेन्द्र सिंखडा, संगीता सिलवाललगायत कलाकारको अभिनय छ । फिल्मका निर्माता ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त हुन् । ‘फेरि रेशम फिरिरि’ २०७२ मा रिलिज भएको फिल्म ‘रेशम फिलिली’को सिक्वेल हो । निरोज महर्जन निर्देशक र रौनक विक्रम कडेल निर्माता रहेको फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ । फिल्मको कथा ‘ग्रिन कार्ड’को विषयबस्तु बताइन्छ ।
अर्काे, फिल्म ‘लाज शरणम्’ राजनीतिक विषयवस्तुमा निर्माण भएको हो । हास्य टेलिश्रृंखला ‘सक्किगो नि’ टिमले बनाएको फिल्म हो । सीताराम कट्टेल ‘धर्मुस’ छन् । धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय फिल्ममा छ । कुमार कट्टेलले निर्देशन गरेको फिल्ममा निर्माता नवीन श्रेष्ठ हुन् । यस्तै, २३ फागुनमा रिलिज हुने फिल्म ‘होस्टेल ३’ सशान कँडेलले निर्देशन गरेका हुन् । हिट फिल्म ‘होस्टल’को तेस्रो सिक्वेलको रूपमा बनेको यो फिल्ममा पारस बम (कुलब्वाई) र सिम्रन पन्त, रिहान गिरि, आशीष घिमिरे, पदम तामाङ, हेना नगरकोटी र समा पराजुलीलगायत कलाकारको अभिनय छ । फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् ।
२९ फागुनमा रिलिज हुने दुई फिल्म ‘आउटलः दफा २१९’ र ‘अञ्जिला’ फागु पूर्णिमाको अवसर पारेर रिलिज हुन लागेको हो । ‘आउटलः दफा २१९’ विक्की महर्जन निर्देशित फिल्ममा सुशील सिटौला, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुनको अभिनय छ । फिल्म विनोद कठायतले निर्माण गरेका हुन् । फिल्म एक्सन कथामा बनेको हो । फिल्म ‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा बनेको फिल्म हो । मिलन चाम्स निर्देशित फिल्ममा एञ्जिलाका अलवा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङको अभिनय छ । फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् ।