नेपाल टूरको पूर्वसन्ध्यामा गायक प्रमोद खरेलले मनोरञ्जक र रोमान्टिक डान्सिङ ट्रयाक ‘लै लै लै’ सार्वजनिक गरेका छन् । सोमबार बेलुका उनको युट्युव च्यानलबाट सार्वजनिक गीतले दर्शकलाई छमछमी नचाउने पक्का छ । कृष्ण केसीको शब्द, संगीत, प्रमोदको स्वर, योगेशकाजीको संगीत संयोजनमा गीत तयार भएको छ । गीतको भिडियो समेत आकर्षक बनेको छ जहाँ पल शाह, जुना विश्वकर्मा फिचर्ड छन् । रोशन विश्वकर्माको नृत्य निर्देशन र शान थापाको निर्देशनमा भिडियो बनेको छ ।
‘पछिल्लोपटक अमेरिका जाँदा संगीतकार कृष्ण केसीसँग गीतबारे कुरा भएको थियो । मेरो डान्सिङ ट्रयाक पनि नआएको धेरै भयो भनेर उहाँले भन्नुभयो’ प्रमोदले भने, ‘सुन्ने वित्तिकै क्याच्ची लाग्यो । नेपाल आएपछि योगेशकाजीसँग बसेर फाइनल गर्यौं । ब्याण्डका साथीहरूसँग बसेर रेकर्ड गर्यौं ।’ यो गीत यसअघि नै टिकटकमा हिट भैसकेको छ । युट्युवमा गीतको पूर्ण संस्करण आउनुअघि टिकटक भर्सन सार्वजनिक भैसकेको थियो जसमाथि प्रशस्तै टिकटक भिडियो बनिरहेका छन् ।
फागुन २ देखि देशब्यापी टूर हुँदैछ
गायक खरेलको उनको ब्याण्ड ‘परम्परा’ फागुन २ देखि देशब्यापी सांगीतिक टूरमा निस्कने तयारीमा छ । टूर सुरु हुने पूर्वसन्ध्यामा नयाँ गीत रिलिज गर्दै प्रमोदले प्रशंसकलाई उत्साहित तुल्याएका छन् । सार्वजनिक नयाँ गीतलाई टूरमै सुनाउने तयारी छ । २ फागुनमा पहिलो प्रस्तुति चितवनको सौराहामा दिने तयारी छ । त्यसपछि ३ फागुनमा सुनसरीको चक्रघट्टी, ५ फागुनमा झापाको मेचीडाँगी, ९ फागुनमा इलामको माई नगरपालिका, १० फागुनमा मोरङको विराट एक्स्पो, विराटचोक र १२ फागुनमा इलामको चुलाचुलीमा ब्याण्ड गुञ्जिने तयारीमा छ ।
यसैवर्षदेखि प्रमोदले आफ्नो ब्याण्डलाई सक्रिय तुल्याएका हुन् । ब्याण्डले साउदी अरबको जेद्दा, नेपालको भैरहवा, लेखनाथ पोखरा, तनहुँको डुम्रे र भारतको सिक्किममा प्रस्तुति दिइसकेको छ । ब्याण्डको लिड भोकलिस्टमा प्रमोद स्वयम छन् । लिड गिटारिस्टमा देवाशिष तामाङ, बेस गिटारमा कुशल थापा, किबोर्डमा राहुल भुजेल, ड्रममा भुपेन रसाइली, मादल जेपी जोशी र बाँसुरीमा संजीव मैनाली छन् ।