हरिवंश आचार्यको प्रमुख भूमिका रहेको नेपाली चलचित्र ‘भूठान’ अब अमेरिका र क्यानडामा पनि प्रदर्शन हुने भएको छ । हलिउडको प्रतिष्ठित वितरण कम्पनी बफेलो एटले यो चलचित्रको वितरणको जिम्मा लिएको निर्माता अविरल थापाले जनाए । ‘अङ्ग्रेजीमा ‘द वर्ल्ड्स् ह्याप्पिएस्ट म्यान’ नाम रहेको भूठान’ मा हरिवंश आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसका साथै हलिउडका चर्चित अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिका निर्वाह गरेका छन् ।
यो चलचित्र विनोद पौडेलले निर्देशन गरेका हुन् । पौडेलले यसअघि ‘साँघुरो’ र ‘बुलबुल’ जस्ता प्रशंसित चलचित्रहरू निर्देशन गरिसकेका छन् । ‘बुलबुल’ले ९२ औँ अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गरेको थियो । ‘भूठान’ले आफ्नो थातथलोबाट विस्थापित भएका भुटानी शरणार्थीहरूको कथालाई प्रस्तुत गर्दछ । चलचित्रको अधिकांश छायाङ्कन अमेरिकामा गरिएको छ । यो हलिउडको साग अफट्रा अन्तर्गत बनेको पहिलो नेपाली चलचित्र हो ।
राजेन्द्र ठकुराठी, अमिताव जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बास्कोटा यस चलचित्रका प्रमुख निर्माता हुन् । यसमा सुसन प्रजापतिको छायाङ्कन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनि, श्यामबरण केमको सङ्गीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन र बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ । नेपालमा यो चलचित्र आरआर फिल्मस् प्रोडक्सनले वितरण गर्नेछ ।