अभिनेत्री दीपिका प्रसाईंले ‘मायावी’ आफ्नो सपना भएको बताएकी छिन् । केही बर्षको अन्तरालपछि फिल्मको पर्दामा फर्किन लागेकी दीपिकाले यो फिल्म आफ्ना लागि विशेष भएको बताइन् । मिडिया कुराकानीमा उनले भनिन्, ‘यो प्रोजेक्ट ५ बर्ष अगाडिदेखिको यात्रा हो । प्रोजेक्ट सुरु भएपछि मात्र मैले आफू गर्भवती भएको थाहा पाएँ । त्यो अवस्थामा मैले कि त सन्तान, कि त फिल्म रोज्नुपर्ने अवस्था थियो । तर, मैले भगवानको नाम पुकारेर दुबैलाई जिताउनुपर्छ भने अगाडि बढेँ ।’ छायांकनमा दुःख भएपनि दर्शकको उत्साहले खुसी मिलेको बताइन् । छायांकनको क्रममा आफूले एउटा कुरा गुमाउने अवस्था रहेको कठिन अनुभव उनले सेयर गरिन् ।
भनिन्, ‘मैले निर्देशक दिवाकर भट्टराईलाई यो फिल्म म गर्न सक्दिनँ भनेकी थिएँ । अन्य नायिका लिनुहोस् पनि भनेँ । तर, मलाई उहाँले हरेक शब्दमा तिमी छौं, अरुलाई सोच्न सक्दिनँ भन्नुभयो । यसैले मैले यो फिल्म गर्नुपर्यो । दीपिकाले ‘मायावी’ आफ्नो दोस्रो सन्तान भएको बताइन् । यो ‘पागलपन’ कसको थियो, दीपिका भन्छिन्, ‘यो देख्दा निर्देशककै पागलपन देखिन्छ । साथमा, हाम्रो र टिमको पनि पागलपन हो । यसैले, त यो फिल्म हलसम्म आउन सकेको छ ।’ दीपिकाले ‘मायावी’लाई ‘प्रेमको पागलपन’को कथा भनेकी छिन् । उनले, बाहिरी ब्यानरका वा घरका फिल्ममा काम गर्न आफूलाई कुनैपनि समस्या नभएको बताइन् ।
अब निरन्तर फिल्म क्षेत्रमा लाग्ने उनको भनाई छ । ‘मायावी’को अर्थ के हो भन्ने प्रश्नमा दीपिकाले भनिन्, ‘फिल्ममा अनेकौं तरिकाले मायावी देख्न सकिन्छ । मायावीको अर्थ सामान्य रुपमा मायाजालको रुपमा बुझिन्छ । तर, यो फिल्ममा भने मायावी भनेको आकर्षण हो भनेर देखाइएको छ ।’ ध्रुब न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको फिल्ममा प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सहनिर्माताको रुपमा छन् । १४ फागुनदेखि फिल्म दर्शकमाझ आउँदैछ । दिवाकर भट्टराई निर्देशित फिल्ममा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समिम खान लगायतको अभिनय छ ।