संगीतलाई राम्रोसँग ‘फलो’ गर्ने श्रोता-दर्शकले इन्द्रकला राईलाई चिन्नुभएकै होला । उनलाई नामले नचिन्नेले पनि ‘दिमाग खराब’ फिल्मको हिट गीत ‘हितैको माया’की गायिका भनेपछि चिनेको हुनुपर्छ । सुशान्त केसीको पछिल्लो ब्लकबस्टर गीत ‘बार्दली’मा पनि उनलाई सुन्न सकिन्छ । यस वर्षको चर्चित फिल्म ‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ पनि उनको यस वर्षको हिट गीत हो । ‘बार्दली’ त दुई सातासम्म युट्युबको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ भयो, जसले इन्द्रकलाको प्रसिद्धि विदेशमा समेत चम्कियो ।
उनै इन्द्रकला यतिबेला लोकप्रिय नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रतिस्पर्धीको रुपमा सहभागी भएकी छिन् । शनिबार राति प्रसारण भएको ब्लाइन्ड अडिसनको दोस्रो भागमा इन्द्रकलाले आफ्नो सुमधुर गायकीले दर्शकको मन जित्ने प्रयत्न गरिन् । नातिकाजीको संगीत, यादव खरेलको शब्द र फत्तेमान राजभण्डारीको स्वर रहेको कालजयी गीत ‘यस्तो पनि हुँदो रहेछ’मा इन्द्रकलाले सानदार प्रस्तुति दिइन् । उनको प्रस्तुतिमा चारैजना कोच कुर्सी घुमाउन बाध्य भए । उनलाई आफ्नो टिममा ल्याउन कोचबीच होड नै चल्यो । अन्ततः उनले कोच खेम सेन्चुरीको समूह छनोट गरिन् ।
‘गीत मात्र गाएर नहुने रहेछ, चिनिनु पनि पर्ने रहेछ’
भ्वाइसमा प्रस्तुति दिएपछि इन्द्रकलालाई कोच सेन्चुरीले सोधे– तपाईं यति राम्रो गाउने कलाकार किन भ्वाइसमा ? इन्द्रकलाको जवाफ थियो– ‘सिंगरका धेरै समस्या भइरहेका हुन्छन् । कस्तो भने गीत मान्छेले धेरै सुन्नुभएको हुन्छ तर मान्छे चिन्नुभएको हुँदैन । यसकारण भ्वाइसलाई मैले चिन्ने माध्यम र प्लाटफर्म ठानेको छु । यसकारण म सहभागी भएकी हुँ ।’ त्यसपछि कोच मेलिना राईले भनिन्, ‘खासमा इन्द्रकला नानुलाई यो स्टेजको जरुरत थिएन । अहिलेसम्म इन्द्रकलालाई जतिले चिन्नुभएको छ, यहाँ आइसकेपछि पूरा संसारले चिन्नुहुन्छ नि त । हजुरले यो प्लाटफर्म चुज गर्नुभयो नानु, एकदमै राम्रो गर्नुभयो ।’
कोचद्वय राजु लामा र उदय सोताङले पनि इन्द्रकलाको गायकीको प्रशंसा गरे । कोच लामाले चर्चित कालजयी गीतलाई एकै टेकमा गाउन सक्ने चेष्टा जो कसैले गर्न नसक्ने बताए ।’ भ्वाइस अफ नेपाल आफ्ना लागि उत्कृष्ट टिभी रियालिटी शो रहेको इन्द्रकला बताउँछिन् । ‘यो यस्तो बेस्ट रियालिटी शो हो जहाँ सहभागी भएपछि धेरै प्रोग्रेस हुन्छ,’ उनले भनिन् ।
तीन बहिनी लिएर भ्वाइसमा पुगेकी थिइन्
भ्वाइसको ब्लाइन्ड अडिसनका लागि इन्द्रकला तीन जना साना बहिनी लिएर पुगेकी थिइन् । खोटाङ घर भएकी उनी पछिल्लो समय काठमाडौंको जोरपाटीमा बसोबास गर्दै आएकी छिन् । साना तीन बहिनीलाई पढाउने र हुर्काउने जिम्मा उनकै काँधमा छ । पाँच वर्षअघि बुबाआमाको सम्बन्ध विच्छेद भएपछि इन्द्रकलाको काँधमा परिवार पाल्ने जिम्मा आएको छ । सका लागि उनले के मात्र गरिनन् ? लकडाउनमा बालुवा र इट्टा बोकिन् । फाइनान्समा पैसा उठाउने काम गरिन् । टिकटकमा कभर सङ गाउँदा गाउँदै उनलाई धेरैले चिन्न थाले । इन्द्रकलाले लाइभ म्युजिकमा पनि प्रस्तुति दिएकी छिन् ।
निश्चल बस्नेत र स्वस्तिमा खड्काको सुपरहिट फिल्म ‘दिमाग खराब’को गीतमा आवाज दिएपछि इन्द्रकला डिमान्डेड गायिका भएकी छन् । सुशान्त केसीको ‘बार्दली’पछि त उनले नेपालका विभिन्न ठाउँमा समेत पुगेर प्रस्तुति दिइन् । अहिले उनीसँग पार्श्वगायनको लाइनअप लामै छ ।