अभिनेत्री वर्षा राउत र ‘साँघुरो’ फेम्ड निर्देशक जोयस पाण्डेलाई मुख्य भूमिकामा लिएर फिल्म ‘हिउँको गीत’ निर्माण भएको छ । मंगलबार अमेरिकास्थित पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा फिल्मको अन्तिम दृश्य छायांकन गरियो । ओहायो राज्यको क्लिभल्याण्ड सहरमा रहेको हलिउडका फिल्म छायांकन गरिने सुविधा सम्पन्न स्टुडियोमा समेत फिल्म खिचिएको जनाइएको छ । विमल सुवेदीको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा जोयश पाण्डेय र निर्देशक सुवेदीको संयुक्त लेखन छ । नेपाली र अंग्रेजी भाषामा खिचिएको फिल्ममा नेपालीभाषी भुटानी र नेपाली आप्रवासीको कथा समेटिएको छ ।
भुटान, नेपाल र अमेरिकामा जन्मे-हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा फिल्मले भन्ने निर्देशक सुवेदीले जानकारी दिए । ‘यो फिल्म नेपालीभाषी भुटानीको पहिलो दृश्यात्मक ऐतिहासिक दस्तावेज हुनेछ,’ उनी भन्छन्, ‘बच्चा अवस्थादेखि पढेका, सुनेका र कथा लेखनका विभिन्न चरणमा नेपालको शरणार्थी क्याम्पदेखि सयौँ व्यक्तिहरुसँग भेटेर सुनेको अनुभवको आधारमा यो फिल्म तयार भएको हो । यसले भुटानी नेपालीको मात्र कथा भन्दैन, अमेरिका आइपुगेका संसारभरका आप्रवासीको कथा पनि भन्छ ।’ थिएटर भिलेजमार्फत् नाटक लेखन, निर्देशन तथा कला निर्देशन, अध्यापनमा सक्रिय सुवेदीले भुटानी शरणार्थीका विषयमा नेपाल तथा भारतमा थुप्रै काम गरिसकेका छन् । ‘हिउँको गीत’ १२ वर्षअघि विजारोपण भएको थियो ।
सुवेदीले पछि यसलाई नाटकको रुपमा भारतमा प्रस्तुत गरे, जसबाट उनले प्रसिद्ध तीनवटा मेटा अवार्ड पनि जितेका थिए । गत वर्ष अमेरिकामा सोही कथामा ‘हिटलर आउँदैछ’ नाममा सांगीतिक नाटक समेत बनाएका थिए ।
यसमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेको निर्माण छ भने कार्यकारी निर्मातामा जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य छन् । चिनइन गाउको छायांकन रहेको फिल्ममा वर्षा र जोयशसहित पूजा चन्द, थोमस किथ स्कट, आकाश खतिवडा, ईशिर कर्मचार्य, केदार उप्रेती, आर. बी. खड्का, अर्जुन रसाइली, समीर रेग्मी लगायतको अभिनय छ ।