कन्दरा ब्याण्डले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो बिहानीको कोसेलीको रूपमा अवसरमा नयाँ गीत 'हुनेछ: द सङ्ग अफ होप' सार्वजनिक गरेको छ । ब्याण्डको साङ्गीतिक यात्रामा अर्को सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको यो म्युजिक भिडियो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वबारे प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरूलाई समेटेर यो गीत तयार पारिएको हो । यो गीत राष्ट्रभक्तहरूका लागि विशेष सान्दर्भिक छ । यसले देशप्रतिको प्रेम, राष्ट्रिय एकता र समृद्ध नेपालको सपनालाई जीवन्त राख्न, हामीलाई आशा, एकता, परिवर्तन, साहस र त्यागका मूल्यहरूलाई आत्मसात् गर्न, सामना गरिरहेका कठिन परिस्थितिहरू, नकारात्मक सोच र अन्धकारलाई पछाडि छोडेर उज्यालो भविष्यको सपना देख्न यो गीतले प्रेरित गर्छ । आशावादी बन्न, एकजुट भएर काम गर्न प्रेरित गर्ने यस गीतले देशको रुपान्तरणका लागि व्यक्तिगत परिवर्तनको महत्त्वलाई उजागर गर्दै विभाजन र द्वन्द्वले होइन एकताले हामीलाई बलियो बनाउँछ भन्ने गीतको सन्देश छ ।
गीत सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले गीतको प्रशंसा गरे । कन्दराका प्रमुख भोकलिस्ट विवेक श्रेष्ठलाई ओलीले भने, "साह्रै राम्रो गाउनुभएको रहेछ, कति मिठो गीत । ठ्याक्कै देशले खोजे जस्तो ।” ओलीले गायक विवेकलाई धन्यवाद दिँदै सन् २०२५ बाट प्रारम्भ गर्न थालेको कन्दराको विश्वभ्रमणको पनि शुभकामना दिए । गायक श्रेष्ठले यो गीतले नेपालीहरूमाझ सकारात्मक सम्भावनाको विम्ब प्रस्तुत गरेको बताए । उनले भने, "यो गीत आशाको किरण हो, जसले हरेक नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा दिनेछ ।" प्रधानमन्त्रीले गीतलाई अपनत्व दिएर यसको म्युजिक भिडियो सार्वजनिक गर्नुले आफूहरूलाई थप उत्साह प्रदान गरेको श्रेष्ठले बताए । 'हुनेछ: द सङ्ग अफ होप'मा शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाको रहेको छ । गीतको भिडियो निर्देशन र कथा केदार भुसालले तयार पारेका हुन् । सेटमा क्यामेरा सञ्चालन नवीन थापा र दीपेश केसीले गरेका छन् भने मोन्टाज र बी-रोल्समा यज्ञ ज्ञानवाली र दीपेश केसीको सहयोग रहेको छ । सम्पादन मधु सन्जेलले गरेका छन् भने भीएफएक्स बम बहादुर थापाले गरेका छन् ।
गिटार, मिक्सिङ, र मास्टरिङ देव लामाले गरेका छन्, बासमा पङ्कज झा, किबोर्डमा उमेश थापा, र पर्कसनमा अविनाश गायकले योगदान दिएका छन् । गीतको एरेन्ज र गिटार वर्क हरि महर्जनले गरेका छन् । गीतको निर्माणमा रेडियो नेपाल, स्टुडियो प्रोजेक्ट प्रोडक्सन, र डिएलसी जस्ता प्रतिष्ठित स्टुडियोले सहकार्य गरेका छन् । कला निर्देशन सन्तोष देवकोटा र पोस्टर र प्रचारप्रसार रोयल भीमसेनले तयार पारेका छन् ।
कन्दरा ब्याण्डका 'लेककी हे माया', 'बिदेसिएर गइन् उनी', 'चञ्चले कान्छीको', 'भेडी गोठैमा', 'हङकङ पोखरा', 'तगारोमा रुमाल' र 'बिचरा म' जस्ता गीतहरू नेपाली सङ्गीतमा बहुचर्चित छन् । कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन् । भोकलिस्ट श्रेष्ठ र ड्रम्स वादक सुनिल थापा ब्याण्डका संस्थापक सदस्य हुन् । यसअघि नै कन्दरा ब्याण्डले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४-०२५ लाई 'पहिला घरदेश, अनि परदेश'को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरिसकेको छ ।