अस्ट्रेलियाका ७ सहरमा गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटा, र्यापर साकार र एक्सिस ब्यान्डले छुट्टाछुट्टै मितिमा कन्सर्ट गर्ने भएका छन् ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कको व्यवस्थापन तथा अस्ट्रेलियाको स्थानीय आयोजक हुल्या इभेन्ट्स एन्ड स्ट्रेट आउटा हिमालयजको आयोजनामा काली, साकार र एक्सिसले कन्सर्ट गर्न लागेका हुन् ।
स्थानीय आयोजकका अनुसार एक्सिसले ‘रोड टु २४–अस्ट्रेलिया टुर’ नामक कन्सर्ट जुलाई ३ देखि आठ सहरमा कन्सर्ट गर्नेछ । ब्यान्ड एक्सिसको ‘ब्ल्याक एन्ड ह्वाइट’, ‘माफ गर’, घर गाउँ’ र ‘पाइला’ एल्बम बजारमा आइसकेका छन् । ब्यान्डले सात वर्षपछि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो । ब्यान्डले अस्ट्रेलियामा ‘अधुरो प्रेम’, ‘माफ गर’, ‘मुस्कान’, ‘एकचोटी’, ‘मेरो प्रेम’, ‘पाइला’ लगायतका गीत सुनाउनेछ ।
‘लिटिल बुद्ध’ का रूपमा परिचित र्यापर साकारले अस्ट्रेलियाबाट ‘डेब्यू’ साङ्गीतिक टुर गर्न लागेका हुन् । उनी अगस्ट १० देखि अस्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्दैछन् । उनको टिममा क्यारे महर्जन र निरज बराइली (सुट डिरेक्टर एन्ड कन्सोल हेड) रहनेछन् ।
गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटा यसै वर्षदेखि नेपाली सङ्गीत क्षेत्रमा १५ औँ वर्ष बिताउँदैछन् । उनले सेप्टेम्बर १५ देखि ‘१५ इयर्स अफ कालीप्रसाद बासकोटा’ नाममा अस्ट्रेलिया टुर गर्दैछन् ।
कार्यक्रम व्यवस्थापनमा १७ वर्षदेखि सक्रिय पीभीई नेटवर्कमा विकेश कायस्थ, स्टिभ देवान र सुमन महर्जन श्रेष्ठ छन् ।