आउँदो शुक्रबार अर्थात् जेठ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ को बुकिङ्गसँगै टिकेट बिक्री सुरू गरिएको छ । शुक्रबारदेखि प्रदर्शन हुने फिल्मलाई मङ्गलवार नै प्रदर्शकले अनलाइनमार्फत टिकेट खरिदसँगै बुक गर्न सक्ने सुविधा दिएका छन् । देशभरका नयाँ हल तथा मल्टिप्लेक्समा दुवै फिल्मले शुक्रबारको शो पाईसकेका छन् ।
दुवै फिल्मको काठमाडौँसँगै देशभरका मल्टिप्लेक्समा शो सार्वजनिक भएको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा राम्रो शो दिएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्स र राइजिङ मलमा रहेको क्युएफएक्स, भक्तपुरमा रहेको क्युएफएक्समा, लबिम मल, सिभिल मल, ठमेलमा रहेको छायाँ सेन्टरमा शो खुलेको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्ज, वुटवल, दमौली, नारायणघाट, विराटनगर, विर्तामोड, विरगंज, इटहरीमा समेत फिल्मको शो खुलेको छ ।
काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, गोंगबुमा रहेको बिएसआर मुभिज, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफ, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युब, जमलमा रहेको विश्वज्योति सिनेमाज, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्स, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्स, सितापाइलामा रहेको सिने सिनेमाज, गोंगबुमा रहेको इन्फिनिटी मुभिज, बानेश्वर र कालिमाटीमा रहेको वान सिनेमाज, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मल, बानेश्वर र बुटवलमा रहेको हलमा समेत शो सार्वजनिक गरिएको छ ।
नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’ मा पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले एक परिवारमा पारेको असरको कथा देखाईएको छ ।
फिल्ममा अभिनेता दयाहाङ राई दयाहाङको श्रीमतीको भूमिका पशुपति राईले निर्वाह गरेकी छन् भने छोराको भूमिकामा प्रसान राईले अभिनय गरेका छन् । फिल्ममा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । फिल्मको निर्माता अमोद राई र नवीन सुब्बा हुन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा छन् ।
घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’ मा डेव्यु अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ ।
यसको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चल र गरिमासँगै कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्ममार्फत डेब्यू गरेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । यसमा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेकाछन् । सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुन् । फिल्म जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।
यसमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।