सेप्टेम्बर १२ देखि १६ सम्म रसियाको क्रेस्टोभय ५ मा आयोजना हुने चलचित्र महोत्सवमा लघुचलचित्र ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलको फाईनलमा पुगेको छ । महोत्सवमा नेपालको अर्को लघुचलचित्र ‘पाउलो’ पनि छनोट भएको छ ।
‘द स्कुल वाल’ लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायत सेलीब्रेशन स्कूलका विद्यार्थीहरुको अभिनय रहेको छ । लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका छन् ।
‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ’पाउलो’ मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको निर्माण टीमले बताएको छ ।
ठमाडौंमा छायांकन गरिएको दुवै लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र ‘द स्कुल वाल’ र ‘पाउलो’को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् ।