जुम्लाका २३ वर्षिय बिर्ख विश्वकर्माको सपना संगीतमा सफल बन्नु हो । सयौं गीत र म्युजिक भिडियोमा काम गरिसकेका उनी मान्छेले सपना देख्न छाड्नु हुँदैन भन्छन् ।
७ महिनाअघि रगतको क्यान्सर पुष्टि भएपछि उनको सांगीतिक करिअरमा धक्का लागेको छ तर, विचलित भएका छैनन् । सेकेन्ड स्टेजको क्यान्सरबाट पीडित उनी नियमित उपचार गराइरहेका छन् ।
कलाकार दीपाश्री निरौला, मिथिला शर्मा, निर्मल शर्मा, रमेश बुढाथोकी बिर्खको भरोसा बनेर उभिएका छन् । यी मनकारीको मद्दतमै बिर्खले बुधबार नयाँ म्युजिक भिडियो ‘उनी त मेरै हुनेवाली हुन्’ सार्वजनिक गरेका छन् ।
बिर्ख स्वयमको कम्पोज रहेको गीतको गायनमा उनलाई प्रविशा अधिकारीले साथ दिएकी छन् । गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको निर्देशन दीपाश्रीले गरेकी हुन् ।
क्यान्सर पीडित बिर्खकै आत्मबल बढाउन दीपाश्री, निर्मल, मिथिला र रमेशले पारिश्रमिक नलिइकनै भिडियोमा अभिनय गरेका छन् । पोस्ट-प्रोडक्सन लगायतका प्राविधिक कार्यमा पनि यो टीमले सघाएको छ ।
‘उहाँको आत्मबल बढोस् र रोगसँग लड्ने शक्ति प्राप्त होस् भनेर सहयोग गरेका हौं’ दीपाश्रीले भनिन्, ‘हामीले हाम्रो ब्यस्तताबीच जुन सहयोग गर्यौं, त्यसप्रति खुसी छौं ।’