जेठ १० गते रिलिज भएको चलचित्र ‘पुजार सार्की’को प्रदर्शनको छैटौँ दिन मङ्गलवार अन्तिम शो मध्यरात १ बजे सकियो । काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा हाउस फुल दर्शकका साथ करिब साढे १० बजे शो सुरु भएको थियो ।
उक्त शो सकिने समयमा चलचित्रका अभिनेता पल शाह, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल तथा नेपाल वितरक रोहित कट्टेल दर्शक भेट्न हल पुगे। मध्यरातमा पनि आफ्नो प्रिय कलाकार आफ्नो सामुन्ने देखेपछि दर्शकको खुसीको सीमा नै रहेन ।
“हामीले नेपाली चलचित्रको शो जहिले पनि बढीमा नौ बजेसम्म हेर्थ्यौँ । विदेशी डिमान्डेड चलचित्रहरू चाहिँ अबेर राती पनि चल्ने गरेका थिए। तर, आज भने हामी हाम्रै चलचित्र मध्यरात साढे १२ बजे सकिएको प्रत्यक्षदर्शी भएका छौँ, त्यसमा पनि हाउस फुल दर्शकसहित । रातीको शो देख्दा र दर्शकको उत्साह हेर्दा नेपाली चलचित्रले निकै फड्को मारेको महसुस भएको छ,” पलले बताए । पलले आइतबार जापानको टोकियोमा भएको ऐतिहासिक शो सम्पन्न गरेर सोमवार साँझ काठमाडौं झरेका थिए । उनले जापान जसै गरी नेपालमा पनि नयाँ रेकर्ड राती सवा दश बजे भएको शो हुनसक्ने सम्भावना व्यक्त गरे । मङ्गलवार दिनभर पलले हल भिजिट गरी दर्शक तथा मिडियासँग साक्षात्कार गरेका थिए ।
मध्यरातमा हल पुगेका निर्देशक राउतले आफूले निर्देशन गरेका सबै चलचित्रहरू मध्ये ‘पुजार सार्की’ बढी सफल भइसकेको बताए । मध्यरातमा समेत हल भिजिट गरेको आफ्नो पहिलो अनुभव रहेको बताउँदै राउतले आफ्नो सपना पुरा भइरहँदा उत्साहित रहेको बताए । “व्यावसायिक सफलतासँगै समीक्षागत रूपमा पनि मैले निकै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छु । मेरो एउटै सपना के हो भने मैले बनाउने चलचित्र व्यावसायिक र समीक्षागत दुवै रूपमा सफल रहनु हो, जुन काम अत्यन्त कठिन र जोखिमपूर्ण छ । यो जोखिम मैले उठाएको थिएँ, सफल बन्दै छु भन्ने लागेको छ,” राउतले प्रसन्न मुद्रामा बताए ।
आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै उच्च सङ्ख्यामा दर्शकसहित चलिरहेको छ ।