अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को छायांकन सकिएको छ । पहिलो चरणमा मनाङमा छायांकन गरिएको फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो ।
४० दिनमा फिल्मको एक गीत बाहेकको छायांकन प्याकअप भएको हो । फिल्ममा समावेश एक गीतको छायांकन केही समयपछि गरिने छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा एसडी योगी र छान्जु पार्कको संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । यो फिल्म असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ । फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।