यही बिहीबार रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’ रिलिज अगावै दर्शकलाई चलचित्र देखाइएको छ । काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट यो फिल्म देखाइएको निर्देशक दिनेश राउतले बताए ।
मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो । त्यहाँ ‘पुजार सार्की’का कलाकारहरूले पनि फिल्म हेरेका थिए । दर्शक छनोट गर्दा नेपाली फिल्मलाई एकदमै प्रेम गर्ने, ‘पुजार सार्की’ हेर्न व्यग्र प्रतीक्षा गरिरहेका, पहिलो रोजाइमा ‘पुजार सार्की’ भएका लगायतको दृष्टिकोण राखिएको थियो ।
यसरी रिलिज अगावै फिल्म देखाइनुको उद्देश्य फिल्मप्रति वास्तविक दर्शकको दृष्टिकोणबारे बुझ्नु, आफ्नो फिल्मबारे दर्शकले बुझेको कुरालाई थाहा पाउनु, चलचित्र हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावहरूलाई मनन गरेर दर्शकको चाहना अनुरूप सुधार गर्नु रहेको निर्देशक राउतले बताए ।
मङ्गलवार फिल्म हेरेका दर्शकले यो चलचित्रलाई अत्यधिक रुचाएका छन् । यी दर्शकबाट यस फिल्मको विषय, कलाकारहरूको सशक्त अभिनय, प्रदीप खड्काको बेजोड भूमिका, आर्यन सिग्देल तथा पल शाहको फरक भूमिका तथा निर्देशकिय क्षमताको खुलेर तारिफ भएको छ।
यस फिल्ममा दर्शकको रोजाइका तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय रहेको छ । फिल्ममा अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस फिल्ममा अभिनय रहेको छ ।
वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए ।
फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।