जेठ २५ गतेबाट फिल्म ‘ऊनको स्विटर’को छायांकन सुरु हुने भएको छ । नवीन चौहानले निर्देशन गर्न लागेको फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहेको छ ।
निर्देशन चौहानले उपत्यका गोविन्द शाही र मोफसल वितरण कुवेर सिने डिस्ट्रिब्युसन प्रा.लि फाइनल भएसँगै छायाङ्कन मिति पनि तय भएको जानकारी दिए ।
फिल्मको छायाङ्कन २५ गतेबाट भए पनि सम्पूर्ण टिम १५ गतेबाटै छायाङ्कन सेटमा पुग्नेछ । छायाङ्कन तयारी लगायत विभिन्न कामका लागि १० दिन अगाडि नै युनिटलाई फ्लोरमा लैजान लागेको निर्देशक चौहानको भनाइ छ ।
पाँचथरका विभिन्न स्थानमा खिचिने ‘ऊनको स्विटर’ निर्देशक चौहानको पहिलो फिचर फिल्म हो । फिल्मलाई आर्टमान्डूले निर्माण गर्नेछ ।
फिल्ममा विपिन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
फिल्मलाई निर्देशक चौहानले नै लेखेका हुन् । फिल्ममा मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन् । फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रले सङ्गीत, चिन्तनराज भण्डारीको छायाङ्कन र कृष्ण भण्डारीको सम्पादन रहनेछ ।