यही जेठ १० गतेबाट रिलिज हुने अभिनेता आर्यन सिग्देल बहु प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा ब्राह्मण चरित्रमा देखिँदै छन् ।
आर्यन ब्राह्मण समुदायको र पिता पण्डित भएता पनि उनमा पूजा पाठको गुण केही थिएन । “म आउट अफ ट्र्याकको मान्छे हुँ । मेरो बुवा पण्डित हुनुहुन्छ । बुवा पण्डित भएता पनि म खासै टिका नलगाउने मान्छे परेँ । म मनमा भएको भगवान् देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु”, आर्यन भन्छन् ।
‘पुजार सार्की’मा देखिने आर्यनको ब्राह्मण लुक उनकै पिताबाट प्रभावित छ । चलचित्रका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए । चलचित्रका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा राउतलाई त्यो फोटो याद आयो । अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले । मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुपर्यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन । निर्देशकले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन् । उनले त्यो फोटो मागे पछि मैले दिएँ । त्यो फोटो अनुसार मेरो लुक्स ट्राई गर्ने बित्तिकै फाइनल भयो । तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो,” आर्यनले बताए ।आर्यनको लुक्स बाहिरिएपछि बुवा समेत खुसी भए । “निकै सुहाएको छ, मेरै कपी गरिछस् भन्नुभयो,” आर्यनले सम्झिए । यस चलचित्रमा आर्यनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली छिन् ।
आफ्नो चरित्र आर्यनका लागि चुनौतीपूर्ण लाग्दो रहेछ। “अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी छ । त्यो हामीले देखिरहेकै कुरा हो। कति घटना अहिले पनि घटिरहेका छन् । कति समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना होलान्। त्यही परिस्थितिसँग जुधेर चलचित्र अगाडि बढेको छ। यसमा मेरो चरित्र निर्माण निकै चुनौतीपूर्ण थियो,” आर्यन भन्छन् ।
यो चलचित्रले उनको करियरमा केही इँटा थप्नेमा उनी विश्वस्त छन्। चलचित्रकर्मीमा आर्यन केवल प्रेमकथाका मात्र चलचित्रमा काम गर्न रुचाउँछन् भनने मानसिकतालाई ‘पुजार सार्की’ले हटाउनेमा उनी ढुक्क देखिन्छन्। “मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिचकिचाइरहनु भएका निर्माताहरुलाई यो चलचित्रले उहाँहरूको हिचकिचाहट मेटाइदिन्छ,” उनले दाबीका साथ भने।