यही शुक्रबार अर्थात् वैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को अग्रिम बुकिङ सुरु भएको छ । बुधबारदेखि नै देशभरका हलमा यो फिल्मको बुकिङ खुल्ला भएको हो ।
उपेन्द्रको ‘मनसरा’ले पाएको शोज हेर्ने हो भने, देशभर १ सय १० शोज पाएको छ । फिल्मलाई मिलेको उच्च शोजबाट ‘मनसरा’ले बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने सङ्केत देखिएको छ ।
यो फिल्मलाई देशकै ठूलो मल्टिपेलेक्स चेन क्यूएफएक्सले अग्रिम बुकिङ टिकटका लागि देशभरका हलमा ६९ शो दिएको छ । जसमा क्यूएफएक्सले काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर ४१ शो उपलब्ध गराएको छ ।
यस्तै, वान सिनेमाजले आफ्ना दुई वटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । भने अन्य ठूला मल्टिप्लेक्स चेनमामा अग्रिम बुकिङ टिकट खुल्ला हुन बाँकी छ । बुधबार साँझसम्म देशभरका सम्पूर्ण हलमा अग्रिम बुकिङ टिकट खुल्ला हुनेछ ।
निर्देशक सुब्बाकै लेखन रहेको फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् । शैलेन्द्र ध्वज कार्की छायाँकार रहेको फिल्मका विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।
फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ । त्यसै गरी सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।
कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेको यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्दै छ ।