रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा निर्माण भएको डकुमेन्ट्री छोटो फिल्म ‘रित्तो गाउँ’को काठमाडौंमा विषेश प्रदर्शन गरिएको छ । फिल्मको कमलपोखरी स्थित बिग मुभिजमा शुक्रबार पहिलो प्रदर्शन गरिएको हो ।
रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौंको आयोजनामा गरिएको विशेष प्रदर्शनसँगै ‘रित्तो गाउँ’ टिमले संसारभर आफ्नो विशेष प्रदर्शनको सुरुवात गरेको जनाएको छ ।
युवा पलायनले रित्तिदै गएको गाउँको कथा प्रस्तुत गरेको फिल्मको निर्देशक ज्ञवालीले काठमाडौंबाट विशेष प्रदर्शन थालिएको बताए । उनले देशका विभिन्न ठाउँसँगै विदेशमा समेत ‘रित्तो गाउँ’को विशेष प्रदर्शन गरिने जानकारी दिए ।
यो डकुमेन्ट्री फिल्ममा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतको अभिनय देख्न सकिन्छ ।
आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । फिल्ममा कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माता रुपमा रहेका छन् । निरज कंडेलको छायांकन रहेको फिल्मको सम्पादन नहकुल खड्काले गरेका हुन् ।
प्रदर्शनमा नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागीता थियो ।