निर्देशक नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति हेरफेर गरिएको छ । जेठ १८ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म पोस्टपोन्ड भएर एक हप्ता पछाडि सरेको छ । अब यो फिल्म जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।
प्रदर्शन मिति हेरफेर भएसँगै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । सेभेन सीज इन्टरटेन्मेन्टले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । नेपाल र अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शन गर्ने गरी फिल्मलाई एक हप्ता पछि सारिएको जनाइएको छ ।
विश्वका प्रतिष्ठित महोत्सवहरु घुमिसकेको ‘गाउँ आएको बाटो’मा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रशान राई मुख्य भूमिकामा छन् । खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि अभिनय रहेको फिल्मले दुर्गम गाउँमा सडक र गाडी पुगेपछिको एउटा परिवारको कथालाई उठाएको छ ।
अमेरिकी छायाँकार मार्किन कापरोनले फिल्मको छायांकन गरेका हुन् । निर्देशक सुब्बा र महेश राईको स्क्रिप्ट लेखन रहेको फिल्मको निर्मातामा अमोद राई र निर्देशक सुब्बा छन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा छन् ।
‘गाउँ आएको बाटो’ टोरोन्टो, गोटेबर्ग, बुसान, पुणे, बेइजिङ जस्ता फेस्टिभलमा छनोट भएर प्रदर्शन भइसकेको छ ।