गत माघमा मनाङका विभिन्न क्षेत्रमा पहिलो चरण छायांकन गरिएको फिल्म ‘खुस्मा’को पूर्वी रुकुमको मैकोटबाट दोस्रो चरणको छायांकन सुरु भएको छ । निर्देशक अशोक थापा मगरले बिहीबारबाट सुरु भएको छायांकन पुन मगरको उद्गम स्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए ।
मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको छ ।
दोस्रो चरणको छायांकन सुरु गरिएसँगै फिल्मको प्रदर्शन मिति तय गरिएको छ । यसलाई असोजको ३ गतेबाट नेपालसहित विभिन्न देशमा प्रदर्शन गरिने निर्माणपक्षले घोषणा गरेको छ ।
फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर आफैले लेखेका हुन् । फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
यो फिल्ममा एसडी योगी र छान्जु पार्कको संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।