यसै बर्षको भदौ २१ गते तिजको दिन रिलिज हुने निर्देशक सुदर्शन थापाको ‘रावायण’ फिल्मले कलाकारदेखि प्राविधिकसम्मलाई अनुबन्धित गर्दै ‘वेलकम बोर्ड’ मार्फत आफ्नो टिममा स्वागत गरेको छ ।
सुदर्शनले अधिकांश निर्माता र निर्देशकले प्रमुख कलाकारलाई मात्र ‘वेलकम बोर्ड’ मार्फत स्वागत गरेको देखिएको उल्लेख गर्दै आफूले भने प्राविधिकहरुलाई पनि समेटेको बताए ।
“कलाकारले मात्र फिल्म बन्दैन” फिल्मको महत्वपूर्ण पाटो भने प्राविधिकहरु पनि हुन् । त्यसकारण हामी हरेक प्राविधिकलाई उत्तिकै स्थान दिन चाहन्छौं । फिल्ममा हरेक प्राविधिकको पनि उत्तिकै मेहनत हुन्छ । ती प्राविधिकलाई दर्शकले पनि चिन्नुपर्छ भन्ने मेरो मान्यता हो’, सुदर्शनले भने ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायत अन्य कलाकारहरुको अभिनय रहनेछ ।
फिल्म वैशाखको दोस्रो साताबाट फ्लोरमा जानेछ । फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफि, श्री श्रेष्ठको एक्सन हुनेछ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्ने छ भने डिजिटल पार्टनर को रुपमा ओ.एस.आर डिजीटल रहेको छ ।