सेलिब्रेटी नेपालको आयोजनामा तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव बिहीबारबाट सुरु भएको छ । रामेछापको रामेछाप नगरपालिका-८, रामेछाप बजारस्थित गौरीशङ्कर उच्च माविमा आयोजित महोत्सव शनिवारसम्म चल्नेछ ।
विगत तीन वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू समेटिएको छ । नेपालका सिनेमा हल नभएका जिल्लाहरूमा गाउँले परिवेशमा निर्माण गरिएका सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँ–गाउँका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने तथा उत्कृष्ट फिल्मलाई अवार्डसमेत प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी तथा पर्यटन प्रवर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्य रहेको छ ।
महोत्सवमा ग्रामीण कथा र नेपाली चलचित्र, पर्यटन र चलचित्र तथा चलचित्र र स्थानीय सरकार विषयमा तीन भिन्न सिनेमा संवाद कार्यक्रममा सञ्चालन गरिँदै छ । महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन् ।
महोत्सवमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालको संयोजकत्वमा जुरी कमिटी रहेको छ । जुरीमा गणेश पाण्डे, भरत रेग्मी, ज्योतिराज राई तथा कुबेरराज गिरी रहेका छन् ।
महोत्सवमा यो पटक फिचर फिल्म तर्फ नाङ्गो गाउँ, दिमाग खराब, विच्छेद, सतीदेवी रहेका छन्, भने सर्ट फिल्म तर्फ द डार्क बेकन, सिगरेट, सिपाहीको छोरा, द ग्रेट मुखिया, डिस्पेयर, रित्तो गाउँ, आमा, स्यालुट, अन्तै माया रहेका छन् । त्यस्तै डकुमेन्ट्री फिल्ममा आग्रे, स्नो लेपाड, इट्टा भट्टा, बनकरिया छन् ।