जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययन गर्ने सन् १९९८ को ब्याचका केही उत्साहित तन्नेरीले सांगीतिक ब्यान्ड ‘बफिन्स ९८’ ब्यान्ड खोले र सांगीतिक हुटहुटीलाई निरन्तरता दिए ।
यो सांगीतिक समूहले अहिलेसम्म ‘नौलो कीर्ति’, ‘पहिचान’ र ‘परावृत्त’ गरि ३ एल्बम ल्याएको छ । हाम्रो देश नेपाल, जब घामको, शहीद, म मरे पनि ब्यान्डका हिट गीत हुन् ।
पछिल्लो वर्ष ब्यान्डले नेपाल-भारत सीमा विवादमा आधारित देशभक्तिपूर्ण गीत ल्यायो । रुदैछ कर्णाली भूमि, मेरो माया रोधी घरकी, माघ है आयो जस्ता गीतमार्फत ब्यान्डले समाज, संस्कृति र स्थानीय भाखालाई दर्शायो ।
यतिबेला नयाँ गीत ‘चैते दशैं-फेदिखोलै बगर’ गीत युट्युवमा रिलिज भएको छ । मौलिक नेपाली पर्व र संस्कृतिको भावलाई यो गीतले प्रस्तुत गर्छ । नेपालको विभिन्न भूभागमा मनाइने मेला स्याङ्जाको फेदीखोला, बागलुङ बजारमा भव्य लाग्छ ।
गीतमा स्वररसंगीत सन्जीव, शब्द स्ट्रगल र सन्जीवको छ । संगीत संयोजन सुमन तामाङ र ध्वनी संयोजन बुद्धराज बज्रचार्यको छ । म्युजिक भिडियोमा फेदिखोला बजार र सेरोफेरोका सुन्दर रमणीय स्थलको आकर्षक दृश्य छायांकन गरिएको छ । बिशाल तामाङको कथा र निर्देशनमा यकिन गुरुङ र बेलु गुरुङको अभिनय हेर्न सकिन्छ ।