लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा बहुसंख्यक महिला युनिटको संलग्नता रहेको फिल्म ‘एक मुठ्ठी बादल : माइ सेयर अफ स्काई’को छायांकन समाप्त भएको छ ।
डकस्कुल र प्लान इन्टरनेसनल नेपालले सन् २०२१ मा गरेको अनुसन्धानले नेपालमा फिल्मकर्मीभित्रको लैङ्गिक असमानतालाई प्रकाश पारेको थियो ।
सो अध्ययनको निष्कर्षअनुसार १० प्रतिशतभन्दा कम महिलाले नेपाली फिल्मको निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले महिला प्रमुख, रचनात्मक र प्राविधिक भूमिकामा फस्टाउन सक्ने वातावरण निर्माणका लागि मुख्य विधामा महिलाको भूमिका चयन गरेको हो ।
फिल्मको छायांकारमा लिन ड्यान छिन् । भियतनामकी ड्यानको यो तेस्रो कथानक फिल्म हो । यो फिल्म उनको नेपाली प्रोजेक्टमा डेब्यु हुनेछ । प्रोडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड र प्रमुख सहायक निर्देशक मर्णा जेम्स छन् ।
निकुन श्रेष्ठको कार्यकारी निर्माण रहेको फिल्मलाई अभिमन्यू दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
गौंथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा महिला कलाकारलाई नै मुख्य भूमिकामा देख्न सकिनेछ । फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाईं, मनिष निरौला, गौरव विष्ट, सहयोगराज अधिकारी, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय छ ।