आगामी जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक गरिएको छ । शुक्रवार रिलिज टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई देखिँदै आएको भन्दा फरक भूमिकामा प्रस्तुत गरिएको छ ।
१ मिनेट १४ सेकेन्डको टिजरमा अभिनेता आर्यन पुजारीको भूमिकामा देखिएका छन् । डोली चढेर आउँदै गरेका उनी केही सामन्त लाग्छन् तर अर्को दृश्यमा भने मैत बहादुर बनेका प्रदीप खड्कासँगै भागिरहेका देखिन्छन् । एक दृश्यमा भुईँमा लडेर माफी मागिरहेका देखिन्छन् ।
दमाहा बजाउँदै गरेका प्रदीप खड्का बाजा बजाउने काम गरेको टिजरमा देखिन्छन् । उनले युवतीलाई मन पराएको र केही क्षणमा गाउँलेले आर्यन सहित लखेटिरहेको देखिन्छ । उनको भूमिकाले जातीय विभेदलाई दर्साएको छ । केही क्षणमा पल शाह देखिन्छन् । उनले भरुवा बन्दुक चलाएका छन् । टिजरमा अभिनेत्रीहरू बराइली र लिम्बुलाई गाउँले परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ ।
दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ ।
चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन् । यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।
राजेश श्रेष्ठको डिओपी रहेको पुजार सार्कीलाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ गरेका छन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ ।