चैत ९ गतेदेखि प्रदर्शनरत फिल्म ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले दुई सातामा दश करोड चौध लाख ग्रस कलेक्सन गर्दै तेस्रो सातामा प्रवेश गरेको हो । फिल्मको पहिलो साताको आम्दानी ६ करोड २४ लाख ग्रस कलेक्सन थियो ।
भारत बाहेकको फिल्म वितरणको अधिकार प्राप्त एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अस्ट्रेलियामा दुईसातामा ५७ शो भएको छ । यस्तै, अमेरिकामा ५० शो, न्युजिल्यान्डमा १२ शो, युरोप अन्तर्गतका देशमा ३५ शो, क्यानडामा १० शो, जापानमा १० शो र दक्षिण कोरियामा १० शो भइसकेको छ । यी सबै शो सोल्ड आउट भएका थिए ।
मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्स अफिसमा प्रदर्शन भइरहेको छ । मलेसियामा ६० शो भइसकेको छ भने युनाइटेड अरब इमिरेस्टमा दैनिक २० शो भइरहेको छ । अर्थात् नेपाल झैँ मध्यपूर्वका ठुला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको छ ।
फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।
प्रदीप भट्टराईको लेखन निर्देशन रहेको फिल्ममा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ । फिल्म म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका हुन् ।