महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष २०८१ माघ ११ गते रिलिज गर्न लागिएको बताए ।
चलचित्रमा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहेको छ । यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ ।
एञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन भएको छ । सुदीप बरालको डिओपी रहेको यस चलचित्रका सम्पादक मिलन श्रेष्ठ हुन् ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्री यसका निर्माण नियन्त्रक हुन् ।