केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘बोक्सीको घर’ले शीर्ष पात्रको लुक्स सार्वजनिक गरेको छ । फागु पूर्णिमाको अवसरमा आयोजित समारोहमा निर्मात्री तथा अभिनेत्री अधिकारी, पूर्वमिस नेपाल माल्भिका सुब्बाले उक्त लुक्स सार्वजनिक गरे ।
फोटोमा केकीको चरित्र केही डरलाग्दो देखिन्छ । फिल्मको प्रमुख भूमिकामा केकी अधिकारीले अभिनय गरेकी छन् ।
‘टिजर र गीतमा सस्पेन्सका रुपमा राखिएको बोक्सी लुक्सलाई प्रचारप्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौं,’ केकीले भनिन्, ‘यसले थप चर्चा पाउने मेरो आशा छ ।’
लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा फिल्म बनाइएकाले दर्शकले फरक स्वाद पाउने बताए । आठ वर्षअघि मञ्चन भएको नाटकमाथि आधारित रहेर फिल्म निर्माण भएको हो ।
सोसल–थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा विद्यमान कथित बोक्सी कुप्रथालाई चित्रण गर्छ । कुप्रथाको नाममा महिलामाथि हुने हिंसालाई फिल्ममा प्रस्तुत गरिएको छ ।
नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गरिने यो फिल्मलाई हलमा रिलिज भएपछि अन्तर्राष्ट्रिय फेस्टिभलमा लैजाने तयारी छ । फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायतको अभिनय छ । यो फिल्म वैशाख १४ गतेदेखि प्रदर्शन हुँदैछ ।