यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौँमा प्रिमियर गरेको छ । फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् ।प्रिमियरमा फिल्म हेर्न पुगेकाले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट सिनेमा भन्ने प्रतिक्रिया दिएका छन् ।
अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको तारिफ गरे । ‘फिल्म राम्रो र रमाइलो बनेको छ । कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । यसले सन्देश पनि जात्राकै शैलीमा दिएको छ । परिवारसँग बसेर हेर्ने फिल्म बनेको छ’, अभिनेता श्रेष्ठले भने ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र सन्देशमूलक फिल्म बनेको प्रतिक्रिया दिइन् । ‘फिल्म हेरिरहँदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिँदैन । किनकि समग्रमा नै फिल्म राम्रो बनेको छ । कलाकारले पनि नियमित देखिइरहने भन्दा फरक अभिनय गरेका छन्’, दीपाले भनिन् ।
अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा हेरेको फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । ‘मैले भन्दै आइरहेको कुरा नै आज फिल्म हेरेपछि सबैले भन्नुभयो । स्क्रीप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हास्ने फिल्म बनाउँछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यही भन्दा डबल हर्षित छु’, अभिनेता आचार्यले भने ।
लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त गरिरहेको प्रतिक्रियाले डर भागेको बताए । ‘हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौँ । हाम्रो प्रस्तुतीकरणमा आज प्रिमियरमा फरक ठाउँ र फरक वर्गका दर्शकले उत्कृष्ट छ भन्नु हुँदा हाम्रो टिम र समूहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुन्छ । जात्रामा हामीले तीन साथीको कथा भनेका थियौँ भने यसपटक राष्ट्रिय विषयलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने ।
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।