उच्च अदालत पाटनले दिनेश राउतद्वारा निर्देशित नेपाली फिल्म ‘प्रकाश’ को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।
राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्मको पुरस्कार प्रदान नगरिएकोविरुद्धमा परेको रिट निवेदनको सुनुवाइका क्रममा बुधवार न्यायाधीशद्वय धीरबहादुर चन्द र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
बुधवार पक्ष र विपक्षका वकिलहरूको वहसपछि उक्त फिल्म चलचित्र प्रदर्शनका लागि स्वीकृति दिए–नदिएकोबारे केन्द्रीय चलचित्र जाँच समितिबाट बुझ्न र दिएको भए प्रमाणित प्रतिलिपि पेस गर्न आदेश भएको हो ।
चलचित्र विकास बोर्डको आयोजनामा भएको राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्मको घोषणा नै गरिएको थिएन । अघिल्ला वर्षहरूमा दिँदै आएको पुरस्कार यो वर्ष किन दिइएन भनी जुम्ला जिल्लाका स्थानीय व्यक्ति मीनराज आचार्य, चलचित्र लेखक विकास सुवेदी तथा निर्देशक दिनेश राउतले चलचित्र विकास बोर्डमा पत्र दर्ता गरी सोधेका थिए । बोर्डबाट जवाफ नपाएपछि गत असोज ५ गते उनीहरुले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए ।
२०७९ भदौ ५ गते सेन्सर पास भएको यो फिल्म अघिल्लो वर्षको भदौ १० गतेदेखि प्रदर्शनमा आएको थियो । यो फिल्ममा प्रदीप खड्का, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा आदि कलाकारले अभिनय गरेका छन् ।
नेपाली समाजको यथार्थतालाई चित्रण गरिएको यो फिल्म जुम्लामा छायांकन गरिएको छ । फिल्ममा नेपाली समाजको यथार्थता, भोगाइ तथा समस्यालाई चित्रण गरिएको छ ।