शुक्रबार तीन नेपालीसहित पाँच फिल्म रिलिज भएका छन् । दर्शकसामु ‘उपहार : द जर्नी अफ लाइफ’, ‘काँडेतार’ र ‘रंगेली’ प्रदर्शनमा आएका छन् । यीसहित हिन्दी थ्रिलर ‘शैतान’ र हलिउडको एनिमेटेड-कमेडी ‘कुङ्फु पान्डा ४’ पनि रिलिज भएका छन् ।
‘उपहार : द जर्नी अफ लाइफ’को रनटाइम १४४ मिनेट छ र यसलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र दिएको छ । युवा उद्यमीले व्यवसाय चलाउन महानगर क्षेत्रमा भोग्नुपर्ने चुनौतीको कथावस्तुमा आधारित छ । यो फिल्मले काठमाडौं महानगरको हालैका घटनाक्रम सम्झाउँछ । फिल्ममा रेखा थापाले चिया पसल उद्यमीको भूमिकामा अभिनय गरेकी छन् ।
ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्ममा रेखासहित पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुसालको मुख्य भूमिका छ । पछिल्लो समय सामाजिक कथावस्तुका एजेण्डा बोकेका फिल्म निर्माणमा लागेकी रेखा यो फिल्मबाट आफ्नो शैली र स्वादमा फर्किएकी छन् । यो फिल्मलाई सोसल-ड्रामा जनरामा राखिएको छ ।
‘रंगेली’को रनटाइम १७६ मिनेट तय छ । यो फिल्मले पीजी सर्टिफिकेट पाएको छ । लामो समयदेखि अमेरिकामा रहेर नेपाली फिल्मको प्रवर्द्धनमा कार्य गर्दै आएका अर्जुन सुवेदीको यो डेब्यु कथानक फिल्म हो । पूर्वी नेपालको बजार रंगेलीको सेटिङ बुनिएको यो फिल्मले परिस्थितिवश ग्याङस्टर बन्न बाध्य विजय नामक पात्रको कथा पेश गर्छ ।
फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा र प्रवीण खतिवडाको अभिनय छ ।
‘काँडेतार’को नवल खड्का निर्देशित फिल्ममा उनको शीर्ष भूमिका छ । नेपाल-भारत सीमामा हुने अत्याचार र सीमा अतिक्रमण रोक्न मुख्य पात्रले गर्ने संघर्ष यसमा चित्रण छ । एक्सन र सोसल ड्रामा बताइएको यो फिल्ममा रेविका गुरुङ, गौरव पहारी र सुरविना कार्कीको अभिनय छ ।
‘कुङ्फु पान्डा ४’ हलिउडको कमेडी–एनिमेटेड फिल्म हो । ‘कुङ्फु पान्डा’ सिरिजको यो चौथो अध्याय हो । ड्रिमवर्क्स एनिमेसन र युनिभर्सल पिक्चर्सको यो फिल्मले पो नामक एक मायालु पान्डाको कथा पेश गर्छ । उपत्यकामा शान्ति कायम राख्न पोले उत्तराधिकारी बनाउनुपर्छ । यसका लागि उसले केमेलिया नामक पात्रसँग संघर्ष गर्नुपर्छ । यो कमेडीसँगै दार्शनिक महसुस हुने यो फिल्म अर्को दर्शनीय फिल्म हो ।
माइक मिचेल निर्देशित यो फिल्मको लम्बाइ ९४ मिनेट छ र यसले पीजी सर्टिफिकेट प्राप्त गरेको छ । फिल्ममा ज्याक ब्ल्याक, आक्वाफिना, भायोला डेभिसको शीर्ष भूमिका छ ।
‘शैतान’ अजय देवगण स्टारर थ्रिलर–हरर फिल्म हो । विकास वहल निर्देशित यो फिल्मले परिवारमा संकट आइलागेपछि मुख्य पात्रले त्यसलाई रोक्न गर्नुपर्ने संघर्षको कथावस्तु पेश गर्छ । सत्य र असत्यबीचको कालातित कथावस्तुमा यो फिल्म बनेको छ । यो फिल्ममा माधवन र जानकी बोदीवालको पनि अभिनय छ । यो फिल्मको रनटाइम १३३ मिनेट र सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ ।