अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनित नेपाली चलचित्र ‘रङ्गेली’को प्रिमियर शो सम्पन्न भएको छ । बुधवार बेलुकी काठमाडौंको कमलपोखरीस्थित बीग मुभिजमा आयोजना भएको प्रिमियरमा दयाहाङ र मिरुना आकर्षणको केन्द्रमा रहे ।
फिल्मको प्रिमियरको लागि दयाहाङ र मिरुना रुकुमको तक्सेराबाट काठमाडौं आइपुगेका थिए । त्यहाँ चलचित्र ‘घरज्वाईं’को छायाङ्कनमा रहेका कलाकार द्वयसँगै छायाँकार सुशन प्रजापति पनि प्रिमियरको लागि रुकुमबाट आएका थिए ।
प्रिमियर पछि चलचित्रमा दयाको ग्याङस्टार चरित्र र मिरुनाको अप्रत्याशित भूमिकाको प्रशंसा भएको छ । प्रिमियरमा अप्रत्याशित रूपमा अन्त्यमा आउने पात्र (आर्यन सिग्देल)को दमदार केमियोको व्यापक चर्चा भएको छ ।
अर्जुन सुवेदीले पहिलो पटक लेखन तथा निर्देशन गरेको यो चलचित्रबाट उनले नेपाली चलचित्र उद्योगले गतिलो निर्देशक पाएको भन्दै प्रशंसा भएको छ ।
बुधवारदेखि नै रङ्गेलीको अग्रिम टिकट बुकिङ खुल्ला भइसकेको छ । ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ र मिरुनाको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।
चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का एशोसियट निर्माता हुन् । छायाँकार सुशन प्रजापति हुन् ।