कृषा चौलागाईको निर्देशन रहने फिल्म ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मका बाल कलाकारले मुहूर्त सट दिएको जानकारी निर्देशक चौलागाईले दिइन् ।
फिल्मको फागुन ११ गतेबाट पहिलो चरण अर्न्तगतको १५ दिने सेड्युलको निरन्तर छायांकन थालिएको हो । फिल्मको नवलपरासी पश्चात बुटवल र नेपालगञ्जमा समेत छायांकन हुने निर्देशक तथा निर्मात्री कृषा चौलागाईले बताइन् ।
फिल्मको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन गरिनेछ । मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल फिल्मको दोस्रो सेड्युलमा मात्रै जोडिनेछन् ।
विशाल चौलागाई निर्माता रहेको फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, बिशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मको तीन चरणमा छायांकन हुनेछ ।
फिल्ममा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । उनी सिनेमाको दोस्रो चरणको छायांकनमा जोडिनेछन् । प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ ।