गत माघ २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दयारानी’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । पहिलो हप्ता १ करोड ५० लाख ग्रस कलेक्सन गरेको फिल्मको दोस्रो सप्ताहन्नमा १ करोड ग्रस कलेक्सन थप्दै २ करोड ५० लाख व्यापार गरेका हो ।
मंगलबार निर्माण टिमले एक पोस्टरसहित हिजो सोमबारसम्मको व्यापारिक आँकडा सार्वजनिक गरेको छ । यो सँगै फिल्म बक्सअफिसमा हिट सावित भएको छ । ‘दयारानी’ले दोस्रो सातामा समेत राम्रो व्यापार गरिरहेको हल सञ्चालक बताउँछन् ।
फिल्मको निर्देशक गुरुङले फिल्मको व्यापार र प्रतिक्रियाबाट आफूलाई हौसला मिलेको बताए । उनले दर्शकलाई यो मायाप्रेमका लागि धन्यवाद छ भन्ने प्रतिक्रिया दिएका छन् । प्रदर्शनको दोश्रो सातामा फिल्मले उल्लेख्य मात्रमा शो संख्या पाएको थियो ।
मंगलबार अभिनेता दयाहाङ राईले पनि बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै फिल्म सफल बनाउन सहयोग गर्ने दर्शकलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौं ।’
सिनेमामा दयाहाङ राई तथा दीया पुनको प्रमूख भूमिका रहेको छ । दयाहाङ र दीयाका अलवा विजय वराल, नयन गुरुङ, श्रृषा कुँवर आदिको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।