प्रतिष्ठित संगीतकार शक्ति बल्लभ र गीतकार बाबुराम पोखरेलको ‘सिर्जनाका फूलहरु’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघको सभाहल विजुलीबजारमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बम सार्वजनिक गरिएको हो ।
सम्मानित गीतकार विश्व बल्लभको प्रमुख आतिथ्यतामा ‘सिर्जनाका फूलहरु’ गीतिसंग्रह सार्वजनिक गरिएको हो । ‘सिर्जनाका फूलहरु’मा प्रतिष्ठित संगीतकार शक्ति बल्लभको एकल संगीत सिर्जना रहेको छ भने गीतकार बाबुराम पोखरेलको एकल शब्द सिर्जना रहेको छ ।
एल्बममा मनोहर सुनाम र निरज श्रेष्ठको संगीत संयोजन रहेको छ भने भोला पौडेलको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको छ । एल्बममा आनन्द कार्की, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, सुमित खड्का, माण्डवी त्रिपाठी, बानिका प्रधान र गीतकार पोखरेलकै स्वर रहेको छ ।
गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोइरालाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठित संगीतकार शक्ति बल्लभ, वरिष्ठ गायक आनन्द कार्की, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ, कराँते महासंघका उपाध्यक्ष डा.ओमकृष्ण प्रसाईँ, वरिष्ठ संगीतकार तथा संगीत संयोजक मनोहर सुनाम, रेकर्डिष्ट भोला पौडेल, गायिका माण्डवी त्रिपाठी, पत्रकार सबिता पोखरेल, गायक नवीन कार्की, संगीतकार ज्योतिप्रकाश, गायक चिरञ्जीवि भण्डारी लगायत गीतसंगीत क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।