फ्राइडे रिलिज अर्थात् आज शुक्रबारबाट दुई नेपाली फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएका छन् ।
सिंगल स्क्रिनदेखि मल्टिप्लेक्ससम्म यी दुई फिल्मले उच्च शो पाएका छन् । ‘दयारानी’ले देशभरका फिल्म हलमा करिब १५० शो पाउँदा ‘हात्तीछाप’ले २०० हाराहारीमा शो पाएको छ ।
दुई फिल्ममध्ये ‘दयारानी’लाई कलाकार माओत्से गुरुङले निर्देशन गरेका हुन् भने ‘हात्तीछाप’लाई निर्देशक सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘दयारानी’लाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।
रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । किरन नेपालीको प्रस्तुती र सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा पुष्कर गुरुङ र अमलादेवी राई छन् । फिल्मलाई आरआर फिल्मस्ले नेपालमा र एमएसएमले विदेशमा वितरण गर्दैछ ।