आगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हात्तीछाप’ को प्रिमियर गरिएको छ । मंगलबार साँझ चाबहिलको केएल टावरस्थित एफक्युव चलचित्र भवनमा फिल्मको प्रिमियर गरिएको हो ।
प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, शोभित बस्नेत, कृषा चौलागाईं, अभिनेत्री रिस्ता बस्नेत, बेनिशा हमाल लगायत फिल्मकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियरमा सहभागी अधिकांशले फिल्मको कथावस्तु मन परेको प्रतिक्रिया दिएका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मले नेपालको एक ऐतिहासिक घटनालाई २ घण्टामा समेटेको देखेर आफूलाई आश्चर्य र खुसी लागेको बताए । निर्देशक शोभित बस्नेत र कृषा चौलागाईंले फिल्मको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरे । उनीहरुले फिल्मको प्रस्तुति पनि फरक रहेको बताए ।
सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा छ । किरण नेपालीको प्रस्तुति रहेको फिल्म सौगात मल्ल, दयाहाङ राई, उपासनासिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।
सुशन प्रजापतिको छायाङ्कन रहेको फिल्म काठमाडौँ र पोखरामा खिचिएको हो । फिल्ममा सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरिएको छ । फिल्ममा आर्टमान्डुको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मस्को वितरण रहनेछ ।