‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ ले प्राप्त गरेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको महोत्सवमा सोमबार सर्वोत्कृष्ट चलचित्र उपाधि प्रदान गरिएको हो ।’सतीदेवी’ ले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार समेत जितेको छ । यो चलचित्रले महोत्सवको प्रतिस्पर्धामा सहभागिता जनाएको भए पनि सार्वजनिक प्रदर्शनमा आउन बाँकी नै रहेको छ ।
त्यस्तै शिव रेग्मी सर्वोत्कृष्ट चलचलित्र निर्देशक उपाधि पनि ‘सतीदेवी’बाटै निर्देशक लक्ष्मण सुवेदीले प्राप्त गरेका छन् । महोत्सवमा दक्षिण एसिायली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए ।
महोत्सवमा चलचित्रको निर्णायक समितिको संयोजकमा वरिष्ठ बृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल रहेका थिए । सो समितिमा नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधान सम्पादक माधव प्रसाद तिवारी र चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष रक्षा सिंह राणा रहेकी थिइन ।
महोत्सवमा प्रकाश, ‘सतीदेवी’, बिच्छेद, महानगर, वेलकम टु हेमजाकोट, भाग्य, चारदाम, लिलामे माइला, म अलप हुन चाहन्छु, वाइल्ड फायर, भुसको लोग्ने, खाग, गाली मन्त्र, आइ लभयू मम, हमर पहिचान, ग्रेट फादर, किरयापुत्री, वनकरिया र हिन्दी भाषाको चलचित्र घटना, लगायत प्रदर्शन गरिएको थियो ।