अभिनेत्री वर्षा सिवाकोटीले प्रमुख भूमिका रहने चलचित्र ‘मोदीबेनीको शुभमुहूर्त भएको छ । मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त पश्चात् मङ्गलवार नै चलचित्र युनिट छायाङ्कनमा निस्किएको छ ।
सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले नव अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिएकी छन् ।
ओजस थिएटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा प्रीतको रित नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् । अभिनेता श्रेष्ठले आफू पूर्ण रूपमा चलचित्रको लागि तयार भएर अभिनयमा होमिन लागेको बताए ।
यस चलचित्रबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्दैछिन् । उप्रेतीले यस चलचित्रमा कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन् ।
अभिनेता सरोज खनालले पनि चलचित्रमा प्रमुख भूमिका निभाउनेछन् । चलचित्रमा अमर, सरोज, रेजिना, वर्षा, दिलीपका अलावा कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । प्रमुख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत् समेत छनोट गरिएको हो ।
चलचित्रका निर्देशक शङ्कर कोइरालाले यो चलचित्र पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा बन्ने बताए । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् ।
चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।
चलचित्रमा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतमको प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।