बाबुछोरीको पारिवारिक कथा बोकेको फिल्म ‘चित्रा’को अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको फेब्रवरी ९ तारिखका दिनमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्यान्डस, रोसनी पार्कमा प्रमियर हुनेछ ।
निर्माताबाट अभिनेतामा डेब्यू गरेका सन्तोष अधिकारीले सो प्रिमियरमा सो शहरका मेयरसहित केही कलाकारहरु समेत सहभागी हुने जानकारी दिएका छन् । सो प्रिमियरको टिकटदर ३० अष्ट्रेलियन डलर तोकिएको छ । नेपालको झल्को दिने प्रिमियरस्थल तास्मानियामा भूटानी नेपालीसहितका नेपालीहरुको उल्लेखनीय बसोबास रहेको छ ।
घनश्याम लामिछाने निर्देशित फिल्म पौस २७ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ ।
यो फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ ।
चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ।