अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट मङ्गलवारदेखि हुने छायाङ्कनको लागि आइतबार कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ हिँडेको छ ।
चलचित्रका निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेका छन् । पुरानो टेक्स्चरमा तयार पारिएको पोस्टरमा अभिनेता आर्यन, प्रदीप र पललाई राखिएको छ । यी अभिनेताहरू आ-आफ्नो चरित्रमा देखिएका छन् । पोस्टरको डिजाइनबाट चलचित्रको कथा अहिलेको नभई निकै वर्ष अघिको रहेको अनुमान लगाउन सकिन्छ । पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन् ।
यस चलचित्रमा अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको अभिनय रहनेछ ।
यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । चलचित्रलाई सङ्गीतकार सुबास भुसालले निर्माण गर्दैछन् । चलचित्रलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।
हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने पूजार सार्कीका मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ । यो चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।