शङ्कर कोइरालाको निर्देशन रहने चलचित्र ‘मोदिबेनी’को कलाकारको लाइनअप पुर्ण भएको छ । छायाङ्कनमा जान लागेको चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा प्रितको रित नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् ।
यस चलचित्रबाट ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्ने भएकी छन् । उप्रेतीले यस चलचित्रमा कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन् ।
पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्ने चलचित्रमा अमर, सरोज, रेजिना, केकी, दिलीपका अलावा कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । प्रमुख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत् समेत छनोट गरिएको हो ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रमा अभिनेता सरोज खनालले पनि प्रमुख भूमिका निभाउनेछन् । आनन्द बिक्रम क्षेत्रीले लेखेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन् ।
चलचित्रमा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेज डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ । चलचित्र माघ १६ गतेदेखि छायाङ्कनमा जानेछ ।