निर्देशक विनोद पौडेलको दोस्रो चलचित्र ‘भुठान’मा हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गर्ने भएका छन् । यो चलचित्रमा यसअघि नै दयाहाङ राई र हरिवंश आचार्य अनुबन्धित भइसकेका छन् । यो चलचित्रको अङ्ग्रेजी नाम ‘द वर्ल्डस् ह्याप्पिएयस्ट मेन’ राखिएको छ ।
ब्रुसले अभिनय गर्न मान्दा एकछिन त विश्वास नै लागेको थिएन । एजेन्सी मार्फत स्क्रिप्ट पठाएका थियौँ, पढ्छन् जस्तो लागेको थिएन”, निर्देशक पौडेलले उत्साहित मुद्रामा ठुलोपर्दासँग भने, “उनको म्यानेजरले निर्माता राजेन्द्रजीलाई अभिनय गर्न राजी भए भनेर फोन गर्दा हामी छक्क पर्यौँ । उनलाई स्क्रिप्टले मन छोएछ । हामीले आर्थिक रूपमा उनलाई लिन नसक्ने अवस्थामा पनि हाम्रो प्रोजेक्टमा आए ।”
पौडेलले ब्रुस जस्तो अभिनेतासँग काम गर्न पाउँदा आफू फिल्ममेकर बनेर राम्रो गरेको महसुस गरेको बताए । साथै, पौडेलले एक परिवार भौगोलिक र सांस्कृतिक हिसाबले अलग भएको कथामा बन्ने यो चलचित्र नेपाल र अमेरिकालाई जोड्ने अवसर रहेको बताए ।
‘भूठान’मा नेपाली अभिनेता द्वय हरिवंश आचार्य र दयाहाङ राई सहित जोयस पाण्डेय,अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, कौशिला खनाल कर्माचार्य लगायतले अभिनय गर्नेछन् । भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देश प्रेम र जीवनयात्राको कथामा यो चलचित्र बन्न लागेको हो ।
‘द वर्ल्डस् ह्याप्पिएस्ट मेन’ सन् २०१९ मा बुसानमा बुसान एसियन प्रोजेक्ट मार्केट अन्तर्गत एक्रोन इन्टरनेशनलमा सहभागी भएको थियो । यसमा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापाको लगानी रहनेछ । एलएन अधिकारी, कौशिला कर्माचार्य, रमेश भट्ट र अपार श्रेष्ठ कार्यकारी निर्माता र दीपक गजमेर लाइन प्रोड्युसर छन् । यो चलचित्र म्याड मङ्की फिल्मस्, ठकुराठी ब्रोस, भ्याकेन्ट लाइट र एभरेस्ट इन्टरटेन्मेन्टको ब्यानरमा बन्दैछ ।
यस चलचित्रमा अमेरिकाको ओहायो–पेन्सिल्भेनिया क्षेत्रमा बसोबास गर्ने भुटानी–नेपाली शरणार्थीहरूको दुर्दशा र विस्थापनको लडाइँलाई देखाइनेछ । हाल यो चलचित्रको छायाङ्कन अक्रोन, ओहायो र त्यस वरपरका सहरमा भइरहेको छ ।