गायक यश कुमारको शब्द, संगीत र स्वरमा गीति फिल्म ‘तिमी छौ र त’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीको प्रमुख आतिथ्यमा मंगलबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।
‘यो गीत हेरेपछि मलाई असहज पनि भयो । किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’, मन्त्री किराँतीले भने, ‘यसलाई मनोरंजनको रुपमा मात्र लिनु हुँदैन । यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कुल ग्राहस्थ उत्पादनमा समेत टेवा दिन्छ ।’
उनले मनाङ्ग र मुस्ताङ्गमा बढेको पर्यटकमा नेपाली गीत संगीत र सिनेमाको योगदान रहेको भन्दै यसलाई उद्योगको रुपमा विकसित गर्न सके राम्रो हुने बताए । सरकारले लक्ष्य लिएको दश लाख भन्दा बढी पर्यटक हिजोसम्म नेपाल भित्रिएको जानकारी दिदै मन्त्री किँरातीले गीतसंगीत र सिनेमासँग जोडिएका सर्जकलाई धन्यवाद दिए ।
मन्त्री किँरातीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको जानकारी गराउदै ‘बालुवाको फूल’ भन्दै अरुका लागि उदाहरण बन्ने जिकिर समेत गरे । गायक यश कुमारले बाल्यकालमा खोला किनारको वस्तीमा बालुवा चालेर जीविकोपार्जन गरेको स्मरण गर्दै मन्त्री किँरातीले उनको प्रसंशा गरेका थिए । गायक यश कुमारले गीत संगीतको माध्यमले मनोरंजनसँगै संदेश प्रभाव गर्न खोजेको बताए ।
‘मैले सुरुआती समयदेखी नै गीत संगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यहिँ अनुरुप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु, यश कुमारले भने । सार्वजनिक गीतको भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन् ।