फिडेल देवकोटाले निर्देशन गरेको फिल्म ‘द रेड सुटकेस’ नेपालमा आगामी नयाँ वर्ष अर्थात चैत ३० बाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।
मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएकोफिल्म विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ ।
गत सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर भएको फिल्मले त्यही फेस्टिभलमा महत्त्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानो मध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल लगायतमा छनौट भएको थियो ।
फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरूको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु फिल्म निर्देशकको रूपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड जिताएको थियो । फिल्मले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।
सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रूपमा रहेका छन् । निर्देशक फिडेलकै लेखन रहेको फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ लगायतको कलाकारको अभिनय छ ।