निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले प्रदर्शनको ५१ औं दिन मनाएको छ । न्यूरोडको रञ्जना सिनेप्लेक्समा शनिबार एक समारोहको आयोजना गरी फिल्मले ५१ औं दिन मनाएको हो । समारोहमा निश्चलले फिल्मको दोस्रो श्रृंखला २०८३ सालको दशैंमा ल्याउने घोषणा गरेका छन् ।
फिल्मले अहिलेसम्म १० करोड हाराहारीमा कमाइ गरेको निश्चलको भनाइ छ । कलाकार, निर्माता र वितरकले केक काटेर ‘दिमाग खराब’को सफलता सेलिव्रेट गरे ।
सिक्वेलको बारेमा निश्चलले भने, ‘ढुक्क हुनूस सिक्वेल आउँछ । २०८३ सालको दशैंमा आउँछ । हामीलाई लागेको र राष्ट्रको हितमा हुने विषय त्यसमा हुनेछ । अहिले भनिहाल्ने अवस्था छैन । तर, त्यो समयलाई टार्गेट गरेर आउँछ ।’
फिल्ममा शीर्ष भूमिका रहेको अभिनेता खगेन्द्र लामिछानेले ‘दिमाग खराब’ ५१ दिन मनाउने आफू अभिनित पहिलो फिल्म भएको बताए । ‘यो पहिलो फिल्म नै हो । यसअघि ४९ दिनसम्म मनाएको याद छ । एकदमै खुशि छु’ उनले भने ।
अभिनेता दयाहाङ राईले फिल्मले सयदिन मनाउने आशा व्यक्त गरे । ‘मैले अभिनय गरेको वर्षको पहिलो फिल्म जारीले १०० दिन मनाएको थियो । यसले पनि सयदिन पक्कै मनाउँछ । मुख्यतः हाम्रो कारणले गरेको कामको परिणाम सुखद आउनु ठूलो कुरा हो’ उनले भने ।
अभिनेत्री स्वस्तिमा खड्काले दर्शकीय प्रतिक्रियाले आफू उत्साहित रहेको बताइन् । ‘पहिलो साता हामीलाई निकै कठिन भएको थियो । स्लिपलेस नाइट रहे । निर्माता निर्देशक पनि आफ्नै घरको भएकाले ५१ दिनसम्म आइपुग्दा निकै उतारचढाव भोग्नुपर्यो’ उनले भनिन् ।
फिल्म गत कार्तिक २४ गतेबाट प्रदर्शनमा आएको थियो ।